पोर्चुगलमा रहेका आप्रवासीहरूका लागि पर्यटन क्षेत्रमा रोजगारीको महत्वपूर्ण अवसर आएको छ। टुरिज्मो दे पोर्चुगल (Turismo de Portugal) ले “पर्यटनका लागि एकीकरण” (Integrar para o Turismo) नामक तालिम कार्यक्रमको दोस्रो संस्करण सुरु गरेको छ।
यस कार्यक्रमको उद्देश्य पोर्चुगलमा बसोबास गरिरहेका आप्रवासी तथा अन्तर्राष्ट्रिय संरक्षण प्राप्त व्यक्तिहरूलाई पर्यटन क्षेत्रअन्तर्गत hotel, restaurant and hospitality सम्बन्धी आवश्यक सीपहरू प्रदान गर्नु हो। तालिममार्फत सहभागीहरूलाई व्यावहारिक तथा सैद्धान्तिक ज्ञान दिइनेछ, जसले उनीहरूलाई रोजगारी प्राप्त गर्न सहज बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूले होटल सेवा, भोजनालय व्यवस्थापन, ग्राहक सेवा, सरसफाइ तथा अन्य आतिथ्य सम्बन्धी कामहरूको सीप सिक्नेछन्। यसले पोर्चुगलको काम गर्ने वातावरण बुझ्न र भविष्यमा स्थिर रोजगारी पाउन मद्दत गर्नेछ।
आवेदन प्रक्रिया २०२६ अप्रिल २ देखि सुरु भइसकेको छ र मे २, २०२६ सम्म खुला रहनेछ। इच्छुक व्यक्तिहरूले तोकिएको समयभित्र आवेदन दिनुपर्नेछ, किनकि सहभागी छनोट प्रक्रिया पनि लागू हुन सक्छ।
यस कार्यक्रमअन्तर्गत तालिम प्रायः निःशुल्क हुने र सफल सहभागीहरूलाई इन्टर्नसिप तथा रोजगारीका अवसरहरू प्राप्त हुने सम्भावना रहेको छ। पर्यटन क्षेत्रमा भविष्य बनाउन चाहने आप्रवासीहरूका लागि यो कार्यक्रम एक राम्रो अवसरको रूपमा हेरिएको छ।
अब कसरी आवेदन दिने भन्ने कुरा पनि बुझ्न जरुरी छ। आवेदन दिनका लागि सबैभन्दा पहिले टुरिज्मो दे पोर्चुगलको आधिकारिक वेबसाइटमा जानुपर्छ। त्यसपछि “Integrar para o Turismo” कार्यक्रम खोजेर त्यससम्बन्धी पेज खोल्नुपर्छ। त्यहाँ दिइएको अनलाइन फारम सावधानीपूर्वक भरेर आवश्यक विवरणहरू पूरा गरी submit गर्नुपर्छ। आवेदन दिँदा व्यक्तिगत जानकारी, सम्पर्क विवरण तथा आवश्यक परेमा कागजातहरू पनि अपलोड गर्नुपर्ने हुन सक्छ।
आवेदन दिँदा सबै विवरण सही र पूरा भरेको सुनिश्चित गर्नुपर्छ, किनकि अपूर्ण वा गलत जानकारीका कारण आवेदन अस्वीकृत हुन सक्छ। समयसीमा नजिकिँदै गएकाले इच्छुक व्यक्तिहरूलाई छिटोभन्दा छिटो आवेदन दिन अनुरोध गरिएको छ।
