पोर्चुगलमा रहेका तामाङ समुदायले प्रत्येक वर्ष श्रद्धा, उत्साह र सांस्कृतिक गर्वका साथ मनाउँदै आएको सोनाम ल्होछार यस वर्ष भने उत्सवसँगै बहसको विषय पनि बनेको छ। एउटै शहरमा तामाङ समुदायका तीन ठूला संस्थाहरूले छुट्टाछुट्टै रूपमा ल्होछार कार्यक्रम आयोजना गरेपछि समुदायभित्र “एकै मन्च मा संयुक्त ल्होछार सम्भव थिएन र? भन्ने प्रश्न बलियो रूपमा उठ्न थालेको हो।

यस वर्ष पोर्चुगलमा तामाङ समाज पोर्चुगल र तामाङ घेन्दुङ पोर्चुगल ले आ–आफ्नो ल्होछार कार्यक्रम सम्पन्न गरिसकेका छन् भने राष्ट्रिय तामाङ घेन्दुङ पोर्चुगल को कार्यक्रम हुन बाँकी रहेको छ। तामाङ समाज पोर्चुगलले आयोजना गरेको ल्होछार कार्यक्रममा चर्चित कलाकार निर्मला घिसिङअविनाश घिसिङलाई आमन्त्रण गरिएको थियो। त्यसैगरी, तामाङ घेन्दुङ पोर्चुगलले चन्द्रकुमार डोङसँगै पाहुना कलाकार राजेश पायल राईलाई निम्त्याएर कार्यक्रम सम्पन्न गरेको थियो। अब हुन बाँकी राष्ट्रिय तामाङ घेन्दुङ पोर्चुगलको ल्होछार कार्यक्रममा उर्गेन डोङलाई ल्याउने तयारी भइरहेको जनाइएको छ।

छुट्टाछुट्टै कार्यक्रम भए पनि सबैको उद्देश्य एउटै तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछार मनाउने । सोनाम ल्होछार तामाङ पात्रो अनुसार नयाँ वर्षको सुरुवात हो, जसमा गुम्बा पूजा, लामा विधि, परम्परागत नृत्य, र सांस्कृतिक झाँकी प्रस्तुतिलाई विशेष महत्व दिइन्छ। यही साझा पहिचान र उद्देश्यका बीच पनि कार्यक्रमहरू अलग–अलग हुँदा समुदायभित्र एकताको प्रश्न उठ्न थालेको देखिन्छ।

यही सन्दर्भमा पोर्चुगलमा रहेका तामाङ समुदायका सदस्यहरूबीच एउटा साझा धारणा बनिरहेको छ—यदि यी तीनै संस्थाहरूले सहकार्य गर्दै, सबै कलाकारलाई समेटेर एउटै संयुक्त ल्होछार कार्यक्रम आयोजना गरेको भए कार्यक्रम अझ प्रभावकारी र भव्य बन्ने थियो। समुदायका अनुसार संयुक्त कार्यक्रम भएको खण्डमा कार्यक्रम खर्चमा दोहोरोपन हट्ने, कलाकारहरूको प्रस्तुति अझ व्यापक हुने, धेरै तामाङ समुदाय एकै स्थानमा समेटिने र संस्थागत एकता तथा सामूहिक शक्ति स्पष्ट देखिने थियो।

पोर्चुगलमा तामाङ समुदायको संख्या क्रमशः बढ्दै गएको छ। तर संस्थागत कार्यक्रमहरू छुट्टाछुट्टै हुँदा सहभागिता विभाजित हुने र सामूहिक प्रभाव कमजोर हुने अवस्था देखिएको समुदायको बुझाइ छ। “संस्था फरक भए पनि पहिचान एउटै हो, संस्कृति एउटै हो, ल्होछार पनि एउटै हो अब प्रतिस्पर्धा होइन, सहकार्यको आवश्यकता छ, भन्ने आवाज समुदायभित्र बलियो बन्दै गएको छ।

यससँगै, पछिल्ला वर्षहरूमा ल्होछार कार्यक्रमको स्वरूपबारे अर्को बहस पनि उठ्दै आएको छ। केही आयोजक संस्थाहरूले युवालाई आकर्षित गर्ने उद्देश्यले DJ dance तथा आधुनिक मनोरञ्जनात्मक कार्यक्रम समावेश गर्न थालेका छन्। युवा पुस्ताले धार्मिक तथा सांस्कृतिक कार्यक्रमपछि सीमित र मर्यादित रूपमा मनोरञ्जन राखिनु उपयुक्त हुने बताउँछन् भने ज्येष्ठ सदस्यहरू ल्होछारको मौलिकता र गरिमा जोगिनु पर्नेमा जोड दिन्छन्।

समुदायका जानकारहरूका अनुसार समाधान सहकार्य र सन्तुलनमै छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई पहिलो प्राथमिकता दिँदै, संस्थाहरूबीच समन्वय गरेर संयुक्त कार्यक्रम आयोजना गर्न सके ल्होछारको गरिमा पनि जोगिने र समुदायको एकता पनि अझ मजबुत बन्ने विश्वास व्यक्त गरिएको छ।

अन्ततः सोनाम ल्होछार केवल एक उत्सव मात्र होइन, यो तामाङ समुदायको पहिचान, इतिहास र एकताको प्रतीक हो। अब प्रश्न उभिएको छ—आउँदा दिनमा तामाङ संस्थाहरूले व्यक्तिगत कार्यक्रमभन्दा माथि उठेर सामूहिक सोच र सहकार्यको बाटो रोज्ने कि नरोझ्ने? यसको उत्तर नै पोर्चुगलमा तामाङ समुदायको भावी एकताको दिशानिर्देशक बन्ने देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *