पोर्चुगलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई पोर्चुगलमा ड्राइभिङ लाइसेन्स प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने विषयमा छलफल गरेको छ।
१२ मार्च २०२६ मा पोर्चुगल सरकारको Institute of Mobility and Transport (IMT) को कार्यालयमा नेपाली दूतावासका नियोग उपप्रमुख श्री शत्रुधन पोखरेल र IMT को Driving Licence Services Department की निर्देशक Ms. Susana Paulino बीच सौहार्दपूर्ण शिष्टाचार भेट तथा छलफल सम्पन्न भएको हो।
उक्त भेटका क्रममा नेपालबाट जारी सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) भएका नेपाली नागरिकहरूले पोर्चुगलमा ड्राइभिङ लाइसेन्स प्राप्त गर्दा सामना गर्नुपर्ने प्रक्रियालाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा विभिन्न पक्षमा विचार-विमर्श गरिएको दूतावासले जनाएको छ।
छलफलमा नेपाली नागरिकलाई ड्राइभिङ लाइसेन्स सम्बन्धी सेवामा सहज पहुँच उपलब्ध गराउने, प्रक्रियालाई थप स्पष्ट र प्रभावकारी बनाउने लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ।
पोर्चुगलमा बसोबास गरिरहेका नेपाली समुदायका लागि ड्राइभिङ लाइसेन्स महत्वपूर्ण विषय भएकाले यस सम्बन्धी सहजीकरणका उपायहरूबारे दुवै पक्षबीच सकारात्मक संवाद भएको दूतावासले जानकारी दिएको छ।
स्रोत: नेपाली दूतावास, लिस्बन (Embassy of Nepal, Lisbon) को आधिकारिक जानकारी।
