पोर्चुगलको आप्रवासन निकाय Agência para a Integração, Migrações e Asilo (AIMA) ले हालै सामाजिक सञ्जालमार्फत आफ्नो सेवाको शुल्क (fees) बढाइएको भन्ने हल्ला गलत भएको स्पष्ट पारेको छ।
AIMA ले सार्वजनिक गरेको जानकारी अनुसार हालै कुनै पनि नयाँ शुल्क वृद्धि लागू गरिएको छैन। सामाजिक सञ्जाल र विभिन्न माध्यममा आप्रवासनसम्बन्धी सेवाको शुल्क बढाइएको भन्ने खबर फैलिएको भन्दै संस्थाले त्यसलाई गलत जानकारी भएको बताएको हो।
संस्थाका अनुसार अहिले लागू भइरहेको शुल्कहरू पहिले नै तय गरिएका आधिकारिक शुल्कहरू नै हुन्, र हालै नयाँ निर्णय गरेर शुल्क बढाइएको छैन।
AIMA ले नागरिक र आप्रवासीहरूलाई आधिकारिक जानकारीका लागि AIMA को आधिकारिक वेबसाइट वा आधिकारिक स्रोत मात्र प्रयोग गर्न पनि अनुरोध गरेको छ। गलत जानकारीका कारण अनावश्यक भ्रम सिर्जना हुन सक्ने भन्दै संस्थाले सचेत गराएको छ।
पोर्चुगलमा बसोबास गर्ने धेरै आप्रवासीहरूले रेसिडेन्सी कार्ड, कागजात प्रक्रिया तथा अन्य सेवाको शुल्क बढेको भन्ने चर्चा गरेपछि AIMA ले यस विषयमा स्पष्टिकरण दिएको हो।
