लिस्बन।
Portugal मा बसोबास गर्ने नेपाली आप्रवासीहरूको संख्या बढ्दै जाँदा परिवार पुनर्मिलन प्रक्रिया झन् जटिल बन्दै गएको छ। सरकारी नीतिमा आएको कडाइका कारण आवश्यक कागजात, आवाससम्बन्धी मापदण्ड तथा प्रक्रिया पूरा गर्न कठिन भएको आप्रवासीहरूको गुनासो छ।
पुर्तगालमा रहेका नेपाली आप्रवासीहरू मुख्य रूपमा कृषि, होटल–रेस्टुरेन्ट, निर्माण तथा सेवा क्षेत्रमा कार्यरत छन्। यद्यपि पछिल्लो समय घरभाडा वृद्धि र आवास अभावका कारण एउटै कोठामा धेरै जना बस्नुपर्ने अवस्था देखिएको छ, जसले परिवार पुनर्मिलन प्रक्रिया थप प्रभावित बनेको छ। परिवार बोलाउन आवश्यक न्यूनतम आवास र आम्दानीको मापदण्ड पूरा गर्न नसक्दा धेरै आप्रवासीहरू वर्षौँसम्म परिवारबाट टाढा बस्न बाध्य भएका छन्।
यसैबीच, विभिन्न क्षेत्रमा कार्यरत नेपाली आप्रवासीहरूले श्रम अधिकार उल्लङ्घनका समस्या पनि उठाउँदै आएका छन्। लामो समय काम गराउँदा पनि पूरा पारिश्रमिक नपाउने, सम्झौताविपरीत काम गर्नुपर्ने तथा ओभरटाइमको भुक्तानी नपाउने गुनासो अझै कायम रहेको उनीहरूको भनाइ छ।
नेपाली दूतावास तथा विभिन्न नेपाली संघ–संस्थाहरूले परामर्श र सहयोग प्रदान गर्दै आए पनि समस्या समाधानमा चुनौती कायम रहेको सरोकारवालाहरू बताउँछन्। आप्रवासी अधिकारकर्मीहरूले परिवार पुनर्मिलन प्रक्रिया सहज बनाउने र श्रमिक अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।